राजधानीमै बमको आतंक

बिहानै त्रिचन्द्र कलेजअघि ‘बम’ भेटियो भने राति प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासको कम्पाउन्डको दक्षिण भागमा प्रेसरकुकर बम पड्कियो ।
यसबीचमा दिनभरजसो ठाउँठाउँमा बम भेटिएको हल्ला चले पनि कुपन्डोल र प्रधानमन्त्री निवासमा मात्रै विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।
कुपन्डोल क्षेत्रमा साँझ भएको विस्फोटको आवाज निकै परसम्म सुनिएको थियो ।
विस्फोट लगत्तै पुल्चोक प्रभागका प्रहरी परिचालित भएका थिए । तर बुद्धनगर र कुपन्डोल जोड्ने पुल आसपासमा विस्फोट भएको सुनिए पनि के विस्फोट भएको थियो भनेर प्रहरीले पत्ता लगाउन सकेन ।
विस्फोटले मानवीय र भौतिक क्षति नभएको प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए ।
बूढानीलकण्ठस्थित प्रधानमन्त्री निवासको कम्पाउन्ड बाहिर राति आठ बजेतिर प्रेसरकुकर बम विस्फोट भएको थियो । विस्फोटबाट ठूलो भौतिक र मानवीय क्षति नभए पनि उक्त क्षेत्रमा राति अबेरसम्म सन्त्रास फैलिएको थियो ।
त्यसो त पहिलो चरणको निर्वाचन अवधीभर पनि देशभरको चुनावी कार्यक्रम, उम्मेदवारको घर तथा मतदान केन्द्रमा बम बिष्फोट भए । तर यि बिष्फोटको जिम्मा भने कसैले औपचारिक रुपमा अहिले सम्म लिएको छैन । चुनावको बहिष्कारमा उत्रिएको बिप्लव नेतृत्वको नेकपाले बम पड्काएको आंशका प्रहरीको भएपनि अहिलेसम्म न नेकपाले कुनै घटनाको औपचारिक जिम्मा लिएको छ नत प्रहरीले कुनै खास कदम उठाउने हिम्मत गरेको छ । यसले आमजनमानसमा बम आतंकको त्रासमात्रै होईन समग्र राष्ट्रिय सुरक्षाव्यवस्थामाथी नै आंशका पैदा गरेको छ । अहिलेसम्म भएका ससाना घटनाहरुको प्रकृति र प्रहरीको तयारीलाई हेर्दा कतै ठुलै बिष्फोटबाट भौतिक तथा मानवीय क्षति हुने अवस्थामा समेत प्रहरी निरिह देखिने स्पष्ट संकेत मिलेको छ ।

आखिर किन भइरहेछ सुरक्षास्थिति फितलो ?
सुरक्षा निकायले आफ्नो गोप्य संयन्त्रमार्फत ल्याउने सूचनाको कमीले यस्तो समस्या भएको पूर्वप्रहरी अधिकारीहरूको विश्लेषण छ । दुई दिनअघि प्रधानमन्त्री निवासमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । त्यसमा बम विस्फोटका घटनाप्रति चिन्ता व्यक्त गरिए पनि दोषीलाई पक्रेर कठोर कारबाही गर्ने निर्णय हुन सकेन । अहिले मुलुकमा गृहमन्त्री छैनन् । गृह मन्त्रालय पनि प्रधानमन्त्रीकै जिम्मेवारीमा छ । यस्तो अवस्थामा सम्बद्ध निकायले प्रधानमन्त्रीसँग सीधा छलफल गर्न नपाउँदा पनि सुरक्षा फितलो बन्न गएको हुन सक्ने अधिकारीहरू बताउँछन् ।
यसमा गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीको दाबी भने बेग्लै छ । ‘कुनै कमजोरी हुन दिएका छैनौं । सबै गम्भीर भएर लागेका छौं,’ उनी भन्छन्, ‘बम बनाउन प्रयोग हुने डेटोनेटरलगायत सामग्री बरामद भइरहेका छन् । सूचना आदानप्रदानमा पनि कमी छैन, निर्वाचनविरोधी गतिविधिमा संलग्न झन्डै ८ सय व्यक्ति पक्राउ परिसकेका छन् । सरकार सुरक्षा समन्वयमा चुकेको छैन ।’ सुरक्षा स्थिति प्रतिकूलका घटना लगातार बढ्न थालेपछि शुक्रबार गृह मन्त्रालयमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सुरक्षा रणनीति परिवर्तन गर्ने निष्कर्षसमेत निकालेको छ । बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा सुरक्षा सुदृढ बनाउन र मतदातालाई ढुक्क हुने अवस्थाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताए । गृह सचिव मोहनकृष्ण सापकोटाले चारै सुरक्षा निकाय परिचालित भएको र समन्वय सबल रहेको जानकारी दिएका थिए । उनले सुरक्षा रणनीति र कार्यनीतिमा केही परिमार्जन गरी अघि बढिएको बताए । बैठकमा निर्वाचन आयुक्तहरू, सचिव, दुवै प्रहरीका प्रमुख, अनुसन्धानका प्रमुख र सेनाका उपरथीलगायत उपस्थित थिए । आवश्यक सतर्कता बढाइएको भनिए पनि दैनिकजसो विस्फोट हुनुलाई सुरक्षाविद्हरूले ‘सहकार्यको अभाव’ र ‘गम्भीर त्रुटि’ भनेका छन् ।
‘घटनामा संलग्नको पहिचानसमेत भएको भनिए पनि सरकारले किन कारबाही गरेको छैन ? किन कोही बोल्दैनन् ?,’ पूर्वरथी बालानन्द शर्माले कान्तिपुरसँग भने, ‘राजनीतिक मुद्दा हो भने बसेर छलफल गर्नु । आतंककारी र आपराधिक गतिविधिमा संलग्न छन् भने उनीहरूलाई कारबाही गर्न सरकार चुक्न हँुदैन । कानुनबमोजिम कारबाही गर्न सक्नुपर्छ । नत्र यो क्रम झनै बढ्दै जानेछ ।’ निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी सबैले अर्थोपार्जन र सुविधामा ध्यान दिँदा निर्वाचन सुरक्षामा धक्का लागेको समेत उनले टिप्पणी गरे । ‘अधिकांश निकाय निर्वाचन देखाएर स्रोत उपयोगमा लागिपरेका छन् । अहिले निर्वाचनमुखी सुरक्षा त देखाइयो तर सबैको ध्यान अन्तैछ,’ शर्माले भने, ‘म्यादी प्रहरी पनि राजनीतिक भर्ती जस्तो भएको छ । म्यादी प्रहरी ९२ हजारभन्दा बढी भनिए पनि त्यति नै छन् कि छैनन् भन्ने प्रश्न टड्कारो छ । उनीहरूले प्रहरीको झैं काम गर्छन् कि कार्यकर्ताझैं त्यो पनि अर्को बहसको विषय छ ।’ उनका अनुसार सेनासँग जति ‘एलर्जी’ भए पनि निर्वाचन सम्पन्न गर्न सेना नै चाहिनु पनि हाम्रो अर्को कमजोरी हो । ‘अन्य निकायलाई उत्तिकै अब्बल बनाएर सेना ब्याकअपमा मात्र बस्नुपर्ने हो । तर सेना नै संलग्न भएर मात्र निर्वाचन गर्नु पर्ने अवस्था पनि हामीले नै निम्त्यायौं, यो दु:खद हो,’ शर्माले भने, ‘तेस्रो घेरामा रहेर भए पनि सेना परिचालित छ । तैपनि सुरक्षा हुन सकेको छैन । यसको प्रमुख कारण संयुक्त सहकार्य भनिए पनि सूचना संयन्त्र फरक–फरक हुनु हो ।’
पूर्वउपरथी विनोज बस्न्यातले निर्वाचन सुरक्षाका लागि आवश्यक पूर्वतयारी नै कमजोर भएको औंल्याए । ‘अब कमजोरी भयो भन्दैमा चुप लाग्नु हुँदैन । इन्टेलिजेन्सलाई सक्रिय पार्न र बलियो बनाएर कारबाही पनि त्यहीअनुरूप गर्न सरकारले तदारुकता देखाउनुपर्छ,’ उनले भने, ‘सुरक्षा निकायले आपसमा समन्वय गरेर चुस्त सूचनाका आधारमा अघि बढ्न सक्नुपर्छ ।’ स्थिति सुदृढ बनाउन दलहरूको भूमिका पनि त्यही प्रकारको हुनुपर्ने सुरक्षा निकायका उच्च अधिकारीहरूको निष्कर्ष छ । जसरी भए पनि निर्वाचन जित्नै पर्ने होडबाजीले पनि यस्तो अवस्था निम्त्याएको उनीहरू बताउँछन् । कसैलाई चिढ्याउँदा निर्वाचनमा उम्मेदवार/दल नै प्रभावित हुने भन्दै शीर्ष नेताहरू नै यसमा मौन रहिदिँदा सुरक्षा निकाय अलमलमा परेको एक अधिकारीले बताए ।
http://www.tvannapurna.com बाट लिएको 

Comments